पत्रकार हत्याको विरोधमा काभ्रेमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइयो

Image
पत्रकार हत्याको विरोधमा काभ्रेमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइयो

April 1, 2025

पत्रकार हत्याको विरोधमा काभ्रेमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइयो

धुलिखेल / पत्रकार हत्या र सञ्चारमाध्यमा भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले सरकारको ध्यानाकर्षण गराएको छ ।

मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएर महासंघले ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न, उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति भएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन सरकारसंग माग गरेको हो ।

चैत्र १६ गते राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समुहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको सरकारलाई अवगतै रहेको उल्लेख गर्दै विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन पनि महासंघले माग गरेको छ ।

एक साताभित्रै सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारसमक्ष आग्रह गर्दै महासंघले अन्यथा महासंघ सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुने शाखा अध्यक्ष विनोदकुमार न्यौपानेले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदर्शनको भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको थियो । अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति गराइएको थियो । कान्तिपुर टेलिभिजनको भवन, हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी क्षति गराइएको थियो । पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको थियो भने ?फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको थियो ।